आधुनिक प्रविधियुक्त पोष्ट अपरेटिभ वार्ड समुद्‌घाटन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

मिति २०७४।०५।०५ गतेका दिन संगठन प्रमुख प्रहरी महानिरीक्षक श्रीमान् प्रकाश अर्यालज्यूको प्रमुख आतिथ्यतामा यस अस्पतालको आधुनिक प्रविधियुक्त पोष्ट अपरेटिभ वार्डको समुदघाटन कार्य सु-सम्पन्न भयो । यस अस्पतालको बार्षिक बिनियोजित बजेट शिर्षकबाट कुल १ करोड ३८ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त वार्डमा १४ वटा बेडहरु रहने छन् । उक्त Post Operative Ward को संचालनसंगै शल्यक्रियाको लागि अस्पतालमा आउने बिरामीहरुले लामो समयसम्म पालो पर्खनु पर्ने समस्या विस्तारै घट्दै जाने बिश्वास गरिएको छ । सोही अवसरमा प्रमुख अतिथि प्रहरी महानिरीक्षकज्यूबाट अस्पताल हाताभित्र बृक्षारोपण कार्य समेत गरिएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्रा.प्रहरी अतिरीक्त महानिरीक्षक डा. दिनेश चन्द्र पोख्रेलबाट स्वागत मन्तव्य तथा अस्पतालको वस्तुस्थिति प्रस्तुतिकरण गर्नु भएको थियो ।

प्रहरी महानिरीक्षक श्रीमान् प्रकाश अर्यालज्यूले Post Operative Ward को विस्तार एवं निर्माण कार्य अत्यन्त सराहनिय कार्य भएको, अस्पतालमा आउने बिरामीहरुलाई दर्जागत भेदभाव नगरी सेवा प्रवाह गर्न,    दुर-दराजका जिल्लाहरुमा काम गरी रहेका प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य सेवा दिन क्षेत्रीय प्रहरी अस्पताललाई समेत स्तर बृद्धि गर्दै लैजान र आम जनतालाई पनि गुणस्तरको सेवा छिटै उपलब्ध गराउने तर्फ काम शुरु गर्ने निर्देशन दिनु भएको थियो । अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई अनुशासित एवं मर्यादित भई कार्य गर्न र कर्मचारीको व्यक्तिगत कार्य सम्पादनको आधारमा मात्र मुल्याँकन हुने हुँदा Result Oriented कार्य गर्न आवश्यक निर्देशन दिनु भयो ।

यस अस्पतालका उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण लगायत वेड भर्ना भई उपचार गराई रहेका विरामीहरुले प्रयोग गर्ने लत्ता कपडा अस्पतालका मेट्रोन प्रा.प्रहरी वरिष्ठ उपरिक्षक रामदेवी गुरुङलाई हस्तान्तरण गर्नु भएको थियो ।

साथै हाल सालै आएको बाढी प्रभावित जिल्लाहरुमा औषधि सहितको बिशेषज्ञ चिकित्सकको टोली खटिई उल्लेखनिय कार्य गरेकोमा संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यूबाट अस्पताललाई बिशेष धन्यबाद दिनु भएको थियो । अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर प्रा.प्रहरी नायव महानिरीक्षक डा. दुर्गा थापा पुनबाट प्रमुख अतिथी एवं अतिथीप्रति धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नु भएको थियो ।